६ महिनाको कमाई ३८ लाख नेपाली ह्याकर सुजनले फेरि पाए १ लाख बढीको बाउन्टी,

नेपाली इथिकल ह्याकर सुजन थापा मगरले पुनः ९६० अमेरिकी डलर अर्थात एक लाख १३ हजारमाथिको बाउन्टी रिवार्ड हात पारेका छन् । बगबाउन्टी प्लेटफर्म बगक्राउडको ‘प्राइभेट इन्भिटेसन’ मा उनले यो रिवार्ड हात पारेका हुन् ।

काठमाडौं स्थित एक साइबर सुरक्षा कम्पनीमा कार्यरत थापा फुर्सदको समयमा मात्र बगबाउन्टीमा सहभागी हुने गर्दछन् । प्रेरणादायी संघर्ष गरेर ह्याकिङको क्षेत्रमा प्रवेश गरेका उनले पछिल्लो छ महिनामा मात्रै विभिन्न बाउन्टी प्रोग्राममार्फत ३० हजार अमेरिकी डलर अर्थात ३५ लाख ३८ हजार रुपैयाँभन्दा बढी हात पारिसकेका छन् ।

थापा मगरले दुई वर्षअघि देखि मात्र बगबाउन्टी कार्यक्रममा सहभागीता जनाउन थालेका हुन् । यस पटकको रिवार्ड भने एउटा पेमेन्ट कम्पनीमा सुरक्षा कमजोरी (बग) फेला पारे वापतको हो ।

जसमा अनधिकृत व्यक्तिले प्रयोगकर्ताको भुक्तानी कारोबार सम्बन्धी सूचनामा पहुँच बनाउनसक्ने कमजोरी रहेको थियो । जुन अमेरिकी फिनटेक आईटी कम्पनी स्क्वायरले तयार पारेको भुक्तानी सम्बन्धी एप हो ।

अनुसन्धानकर्ताको रुपमा ‘पर्सनल इन्भिटेसन’ मा आधारित प्रोग्राम भएकाले एपको नाम भने उनले खुलाउन चाहेनन् । बगबाउन्टीबाट गरेको आम्दानीबाट सुजनले परिवारको १५ लाख ऋण तिरेका थिए । अन्य आम्दानी आमा बुबाको हेरचाहमा खर्च गर्ने योजना रहेको उनले सुनाए । सुजनकी आमा छातीको क्यान्सरबाट पीडित छिन् ।

हरेक वर्ष १० हजार भत्ता बुझेर पनि पोशाक नलगाउँने सरकारी कर्मचारी, कार्यालय छिर्न नदिने नियम बनाइँदै

सरकारी कर्मचारीले हरेक वर्ष १० हजार रुपैयाँ पोशाक भत्ता बापत बुझ्ने गर्छन् । तर पनि आधाभन्दा बढी सरकारी कर्मचारीहरु तोकिएको पोशाक नलगाएरै कार्यालय जाने गर्छन् । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छड्के अनुगमनमा हरेक वर्ष पोशाक नलगाउने कर्मचारीलाई कारबाही गर्न सम्बन्धित विभागीय प्रमुखलाई सिफारिश गर्ने गरेको छ ।

केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्षमा केन्द्रका कर्मचारीहरुले गरेको छड्केमा काठमाडौमा २ सय २०, ललितपुरमा ७३ र भक्तपुरमा ४६ कर्मचारीले पोशाक लगाएको देखिएन । उनीहरुलाई कारबाही गर्न केन्द्रले सम्बन्धित कार्यालयका विभागीय प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको केन्द्रले तयार गरेको वार्षिक प्रतिबेदनमा जनाएको छ । तर केन्द्रले गरेको सिफारिशलाई सम्बन्धित विभागीय प्रमखले कहिल्यै कायान्वयन गर्दैनन् ।

सरकारी कर्मचारीले पोशाक नलगाउनुमा प्रमुख कारण हो, अनुशासनहिन प्रवृत्ति । पोशाक लगाएमा कार्यालय समयभित्र, होटल, रेष्टुरेष्ट तथा अन्य व्यक्तिगत प्रयोजनमा जान पाइँदैन । कार्यालय समय पछि पनि सरासर घर आउनु पर्छ । सरकारी पोशाक लगाएर कार्यालय नगइ अन्य ठाउँमा गए सरकारी कर्मचारी भएको पहिचान खुल्छ । सरकारी पोशाक लगाएर लोकसेवा आयोगका तयारी कक्षामा अध्यापन गर्न पनि नैतिक रुपमा गाह्रो हुन्छ ।

‘त्यसैले सरकारी कर्मचारीले सकेसम्म पोशाक नलाउने परम्परा छ’ संघीय मन्त्रालयका एक सहसचिवले भने । केही सरकारी कर्मचारी अहिले पनि कार्यालय समयभित्र लोकसेवा अयोगको तयारी कक्षा लिने गर्छन । त्यसैले धेरैजसो तयारी कक्षा सिंहदरबार वरिपरि राख्ने गरिएको छ ।

तोकिएको पोशाक नलाएर कार्यालयमा जाने कर्मचारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लगाम लगाउने निर्णय गरेको छ । मन्त्रालयका सचिव एकनारायण अर्यालले एक हप्ता भित्र तोकिएको पोशाक नलगाउने कर्मचारीलाई सिहंदरबारभित्र छिर्न नदिने नियम बनाउने बताए । ‘तोकिएको पोशाक नलगाएका कर्मचारीहरु अहिले पनि संघीय मन्त्रालयमा छिर्न पाउदैनन् । एक हप्ताभित्रै सिंहदरबार भित्र छिर्न नदिने नियम बनाउदै छौ’ अर्यालले भने ।

सिंहदरबार बाहेक अन्य ठाउँमा सरकारी कर्मचारीलाई अनिवार्य पोशाक लगाउनु पर्ने नियम कार्यान्वयन गर्न सम्बन्धित विभागका विभागीय प्रमुखको जिम्मेवारी हुने उनको भनाइ छ । अर्याल संघीय मन्त्रालयमा सरुवा भए पछि उनले यस्तो नियम बनाएका हुन् । सतर्कताले गरेको छड्के अनुगमनमा हरेक वर्ष तोकिएको समयभित्र (बिहान सवा दश बजेसम्म) कार्यालयमा नपुग्ने कर्मचारीलाई कारबाही गर्न केन्द्रले सिफारिश गर्ने गर्छ ।

यो सिफारिश पनि कहिल्यै कार्यान्वयन हुँदैन । तोकिएको पोशाक लगाउँदा तोकिएको समयभित्रै कार्यालयमा पुग्न कर्मचारीलाई नैतिक जिम्मेवारी हुन्छ । त्यसैले तोकिएको समयमा कार्यालयमा जान अटेर गर्ने कर्मचारीहरु पोशाक नलाउन पनि अटेर गर्ने गरेको संघीय मन्त्रालयका एक उच्च कर्मचारीको बुझाई छ ।

सरकारी कर्मचारीलाई अनुशासित, जिम्मेवारी र मर्यादित बनाउन सरकारले सरकारी कर्मचारीकोलागि पोशाक तोकेको छ र पोशाक वापत हरेक वर्ष पोशाक भत्ता दिने गर्छ । पोशाक भत्ता स्थायी कर्मचारीहरुले मात्र पाउदैनन, करार, ज्यालादारी तथा अस्थायी कर्मचारीहरुले पनि पाउछन् तर करार, ज्यालादारी तथा अस्थायी कर्मचारीहरुले तोकिएको पोशाक नलाउने प्रवृत्ति झन् बढी देखिएको मन्त्रालयको बुझाई छ ।

फेरि बढ्यो कति पुग्यो सुनको भाउ ?

काठमाडौं, ७ मंसिर । कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ ।
सुन आज तोलामा ९४ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ती शुक्रबार सुनको भाउ तोलामा ९४ हजार रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि शुक्रबार जस्तै तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

६० अर्ब लाग्ने अनुमान नेपालमा कोरोना खोप लगाउन, दातृ निकायसँग सहयोग माग्ने सरकारको तयारी

काठमाडौं : नेपालमा पन्ध्र बर्षभन्दा माथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन साठी अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको विज्ञ समितिले खोपका लागि अर्बौ रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको हो ।

सरकारले कोरोना भाइरस संक्रमण विरुद्धको खोपका लागि वीस प्रतिशत रकम आफुले ब्यर्होने र बाँकी रकम दातृ निकायलाई आग्रह गर्ने तयारी गरेको छ । विकास साझेदार र दातृनिकायले सहयोग उपलब्ध गराए यो खर्च कम हुनसक्ने अनुमान स्वास्थ्य मन्त्रालयको छ ।

खोपका लागि केही सहयोग खोप सम्बन्धी विश्वव्यापी सञ्जाल ‘गाभी’ले दिने आश्वासन दिएको छ । गाभीले कम र मध्यम कम आय भएका नेपालसहित ९२ देशलाई खोप उपलब्ध गराउन सहयोग गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।

खोप नेपाल भित्र्याउनका लागि केही दिन अघि सरकारले अर्थ, परराष्ट्र तथा स्वास्थ्य मन्त्रालयका सचिव सम्मिलित समिति गठन गरिसकेको छ । खोप खरिदको विषयमा नेपाल सरकारले निजी क्षेत्रलाई पनि अनुरोध गरेको बताइएको छ ।

मन्त्रिपरिषद्ले निजी क्षेत्रलाई पनि खोप भित्राउन बाटो खोल्ने निर्णय गरेको छ । सरकारले खोप भण्डारणका लागि आवश्यक पूर्वाधार बनाउन लाग्ने खर्च, सुरुमा खोप प्राप्त गर्ने जनसंख्याजस्ता विषयमा गृहकार्य गरिरहेको छ ।

अहिलेसम्म कुनैपनि खोपले विश्व स्वास्थ्य संगठनबाट सर्वसाधारणमा प्रयोगका लागि अनुमति पाइसकेको छैनन् । एक दर्जनभन्दा बढी खोप तेस्रो चरणको परीक्षणमा छन् ।