कालापानी– लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नक्सा अंकित सिक्का सरकारले ल्यायो

भारत सरकारलाई नेपाल सरकारले फेरी गतिलो जवाफ दिएको छ । सरकारले कालापानी– लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा अंकित सिक्का ल्याउने भएपछि भारतलाई झनै तनाव थपिएको छ । नेपालीहरुमा उत्साह थपिएको छ।

नयाँ नक्सा सार्वजनिक गरेसँगै नेपाल राष्ट्र बैङ्कले नयाँ नक्सा अङ्कित सिक्का प्रचलनमा ल्याउने भएको पक्का भएको छ । सरकारले नक्सा प्रकाशन गरी सिक्का ल्याउन समेत निर्देशन दिएपछि राष्ट्र बैंकले सिक्का प्रचलनमा ल्याउने गृहकार्य तीब्र पारेको हो।

नेपाल राष्ट्र बैङ्कका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले राष्ट्र बैङ्कले लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नयाँ नक्सा अङ्कित सिक्का टङ्कनको तयारी गरिरहेको जानकारी दिनुभयो । नापी विभागबाट लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नयाँ नक्सा लिने काम भइरहेको बताउँदै उहाँले सिक्का छाप्न बोलपत्र आह्वान गर्न आवश्यक प्रक्रिया सुरु भइसकेको स्पष्ट पार्नुभयो।

‘मुलुकको नयाँ नक्सा अङ्कित सिक्का छाप्न मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कलाई स्वीकृति प्रदान गरिसकेको छ । मन्त्रिपरिषद्को स्वीकृतिअनुसार एक रुपियाँ दरको सिक्का ३० करोडवटा र दुई रुपियाँ दरका १० करोडवटा छाप्ने तयारी भइरहेको छ,’ पोखरेलले भन्नुभयो। नेपालको नयाँ नक्सासहितको सिक्का प्रचलनमा ल्याउन मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कलाई स्वीकृतिसमेत प्रदान गरिसकेको छ। यो समाचार जनबोली न्यूजबाट साभार गरिएको हो ।