बिहान आत्तिँदै फोन गरेकी साथीलाई फोन गरेँ; उठेन ! उसले सु’साइड गरिछे..

बिहान उठेर पानी पिउँदै थिए, मोबाइलमा घण्टी बज्यो। साथीको फोन थियो। उसले पहिला पनि बेलाबेला फोन गर्थी। घण्टौं गफिन्थी। म फोनमा धेरै बेर बोल्न नखोज्ने मान्छे। फोन उठाइनँ।

एक दिन ब्वाइफ्रेन्डसँग आठ घण्टासम्म बोलेँ भनेर मलाई पनि झन्डै घण्टौं सुनाएकी थिई। फेरि त्यस्तै गर्छे कि भन्ने सोचेर म उसको फोन नउठाउन खोज्थेँ। अनि सुन्न मिल्ने समय उब्रिएपछि कल ब्याक गर्थेँ।

दिउँसो खाजा खाँदै गर्दा फेसबुक स्क्रोल गरिरहेकी थिएँ। फेसबुकको भित्तामा अडिएको तस्बिरले मेरा औंलाहरू कापेँ। मनमा भुइँचालो आयो।

आत्तिँदै बिहान फोन गरेकी साथीलाई फोन गरेँ। उठेन।

उसले सु’साइड गरिछे।

मैले बिहान फोन उठाएको भए हुन्थ्यो भन्ने कुराले सताइरह्यो। मैले पहिला जस्तै ‘होला’ भन्ने नसोचेकी भए के अहिलेको अवस्था फरक हुन्थ्यो? पछुतोले मलाई चिथोरिरह्यो।

अर्को दिन उसको घरको पेटीमा थ्याच्च बसेँ। साथीको मृत्युले मेरो मन शून्य थियो। स्तब्ध थिएँ। आसपासबाट उसले सुसाइड गर्नुका कारण धेरैले ‘होला’ मै दिँदै थिए।

कोही ब्रेकअपले होला भन्दै थिए त कोही डिप्रेसन होला भन्दै थिए। अझ कसैले त पेटमा बच्चा थियो होला पनि भन्दै थिए।

ती सबै पनि मैले बिहान गरेजस्तै होलाको भरमा अनुमान गर्दै थिए। मैले ऊ जिउँदै हुँदा त्यही केही ‘होला’ सोचेर फोन उठाइनँ। उनीहरू ऊ मरिसकेपछि त्यसो गर्दै थिए। उनीहरू र म, हामी दुवैले उसलाई परबाट मात्र मूल्यांकन गरिरह्यौं।

त्यसपछि ‘होला’ का बारेमा झन् सोच्न थालेँ। दिनमा कति पटक होला भनेर कसैको अवस्थाबारे अनुमान लगाउँछु? होला भनेर कसैलाई कति नराम्रो सोच्छु? आजसम्म होला भएर गरिएका त्यस्ता अनुमानले कति सम्बन्धहरू बिगारेँ? कति पटक ‘होला’ लाई आधार बनाएर पछुताएँ?

आजसम्म पूर्ण रूपले नबुझी कति पटक व्यक्ति र घटनाको अन्दाज गरेँ होला! मैले होला भनेकै भरमा कतिलाई मानसिक पीडा भयो होला। कतिलाई त गुमाइसकेपछि प्रायश्चित गर्न पनि पाइनँ होला।

कतिपल्ट आफूलाई पनि दोषी ठानेँ होला!

सोच्दै जाँदा मैले सामान्य मानेको ‘होला’ त अझै ठूलो ठूलो हुँदै गयो। यो त मेरै वरपर सुतिरहेको मेरै बानी जस्तो रहेछ। यो त मैले अरूलाई बुझ्ने प्रयत्न गर्नुभन्दा बढी मैले अरूलाई सजिलै एउटा कुरामा सीमित गर्ने साधन जस्तो पो रहेछ। मैले जसलाई बुझ्न प्रयास गर्दिनँ, जसको नजिक जाने प्रयत्न गर्दिनँ वा सक्दिनँ, त्यसलाई परबाट हेर्ने मेरै आँखा पो रहेछ।

कसैलाई बुझ्नुभन्दा पहिला ऊमाथि यस्तो होला भनेर बनाइहाल्ने धारणा।

फ्याउरोले दिनभर उफ्रिँदा पनि नभेटेपछि अंगुर अमिलो छ भनेर हिँडेजस्तै रहेछ।

म त एक पटक पनि सोच्दै नसोची अरूका बारेमा बोलिहाल्दी रहेछु | बोल्नु अगाडि उसको ठाउँमा आफू नबसेर सिधै मूल्यांकन गर्दी रहेछु | अनि अरूले यो त यस्तो हो भनेका भरमा पत्याइहाल्दी पनि रहेछु।

अरूको धरातलमा उभिए ऊ को हो भन्ने थाहा हुन्थ्यो। तर अरूका बारे बोल्दा आफ्नो नैतिक धरातल कमजोर बन्छ भनेर भाग्दी पो रहेछु।

एकदिन देखेकै भरमा, एकैछिन बोलेकै भरमा यो गफाडी होला, घमन्डी होला अथवा अरू केही होला भन्नु त खोलाको किनारमा बसेर यो खोला एकदम गहिरो होला भने जस्तै हो | गहिराइ बुझ्न त पानीमै जानुपर्छ | तर म त पानीसँग भाग्दो रहेछु।

खोलाभित्र पस्दै गर्दा पानीको बहावसँगै तापक्रम महसुस हुन्छ, ढुंगामा लागेको लेउ कत्तिको चिप्लो छ थाहा हुन्छ, कतिसम्म पुग्नु सुरक्षित छ भन्नेसम्म पनि आकलन गर्न सकिन्छ। म धेरै पल्ट त्यसरी पानीमा नपसी खोला गहिरो होला भनेर फर्किने रहेछु।

अनि यही कुरा जस्ताको तस्तै म बाट समाजमा गएछ। प्रशासनमा गएछ।

ट्याटु खोप्ने मान्छे ट्यापे होला! घर बाहिर हिँडिरहने मान्छे खराब होला! केटाकेटी हिँडेको देख्दा जोडी होला! अर्को सँग हिँडेको देख्दा आचरण खराब होला! अझ पुलिसले त एकपल्ट लामो कपाल हुनेको कपाल काट्ने अभियान नै चलायो।

लामो कपाल पाल्ने गुन्डा हुन्छ भनेर त होला!

हामीले आफूजस्तै समाज बनाएका छौं। हामीले के गर्न सक्छौं, के गर्न सक्दैनौं भनेर गुहार गर्ने समाज बनाएका छौं। हाम्रो सम्भाव्यको चाबी समाजभित्रका मानिससँग छ। कुनै पनि व्यक्तिको इच्छा र प्रतिभा अरूले गर्ने अनुमानमा होइन, भावना र मानसिकतामा प्रतिबिम्बित हुन्छ।

पहिलो पटक प्रेम टुटेपछि अर्को पटक उस्तै गरी माया गर्न सक्दिनँ होला भन्छौं। त्यही अनुमानले आफूलाई प्रेमबाट भगाउँछौं। प्रेमबाहेक जीवनका अरू धेरै पाटामा हामी अनुमान गरेरै अलमलिन्छौं। एकपल्ट असफल भएपछि सक्दिनँ होला भनेर प्रयास गर्न छोडिदिन्छौं। कति कुरा त गर्न नै थाल्दैनौं।

आफैंलाई चिन्न पनि सक्दैनौं। अरूलाई बुझ्दै नबुझी बुझे जसरी बोल्छौं।

व्यक्तिको आवरणभन्दा उसको सोचाइमा पुगे त ऊ को हो बुझ्न सकिन्छ। उसले कुनै काम गर्न वा उसले कुनै कुरा भन्न वा कुनै स्वभाव दर्शाउन उसको पृष्ठभूमिको भूमिका हुन्छ। हामी त्यसलाई नजरअन्दाज गर्छौं।

हिजो आज सामाजिक सञ्जालले हामीलाई अनुमान गर्न झन् सजिलो बनाइदिएको छ। यसले घटना बुझ्न कसैको नजिक जानुपर्ने झन्झट पनि सकिदिएको छ। लभ र लाइक इमोजीकै भरमा यस्तो होला भन्दै कुराकानी गर्न छाडेका छौं। सामाजिक सञ्जालका स्ट्याटस र बायो हेरेरै यो त यस्तो पो रहेछ भन्ने थालेका छौं। अझ सेलेब्रेटी यस्ता होलान् भनेर गाली गर्न त कति सजिलो भएको छ।

फेसबुक, युट्युब तथा ट्विटरमा गरिने गाली पढ्दा यो कति गहिरो गरी जकडिएको भनेर थाहा हुन्छ। महिलाका पक्षमा बोल्यो डलरवादी होला। सरकारविरूद्ध बोल्यो कांग्रेस होला। समर्थनमा बोल्यो हनुमान होला। दलाल होला। पैसा खाएको होला। कति कति।

अझ डरलाग्दो त पहिले पहिले होला मा मात्र सीमित हुने कुरामा आजकाल त मान्छेहरू निश्चित नै हुन थालिसके। त्यसैको आधारमा धारणाको टप्पा नै लगाइदिन थालिसके।

फेसबुकमा म्यासेज हेरेन भने ठूलो भयो होला भनिदिन सक्छौं।

आफ्नो प्रिय साथी ‘माई स्टोरी’ मा घुमेको भिडिओ राखेर बिरामी भएर कोठामा सुतिरहेको हुन सक्छ। तर ‘मलाई नबोलाई घुम्न गयो’ भनेर रिसाइदिन सक्छौं।

कति पटक म दिक्क लागिरहेका बेला पुराना फोटो, भिडिओ पोष्ट गर्छु। हेर्नेलाई त ‘खुसी छे केटी’ लाग्न सक्छ। तर मैले राख्ने भिडिओ र फोटोलाई आधार बनाएर मलाई मूल्यांकन नगरिइदिए हुन्थ्यो जस्तो लाग्छ। त्यसमै रिप्लाई गरेर सोधे हुन्थ्यो जस्तो लाग्छ।

अनि आउँछ भूगोल। झापाली भन्न साथ गफाडी। रोल्पा भन्नासाथ कम्युनिस्ट विचार बोकेको। भक्तपुरको नेवार भन्न साथ कोठाको भाडा मुडअनुसार बढाइहाल्ने मान्छे। स्याङ्जा लोकसेवा। कतिपय कुरा रमाइला जोक भएर पनि आउँछन्। तर त्यही जोक बिस्तारै मान्छेको मनमा सत्य हुन थाल्छ। त्यसले अरूलाई कुनै सामान्य कुरामा सीमित गर्ने थाल्छ। अरूलाई बुझ्ने बाटो बन्द गर्न थाल्छ।

एक भारतीय फिल्म ‘पिंक’ सम्झिरहेकी छु। त्यहाँ सँगै रक्सी खान तयार भएकी युवती आफूसँग यौनसम्पर्क गर्न तयार भएको होला भन्ने बुझेर त्यसमा केही नसोची, हो नै भन्ने ठानेर एक पुरुष पात्रले महिला पात्रमाथि दुर्व्यवहार गर्न खोज्छ।

हाम्रो ‘होला’ को बढ्दो प्रयोग केवल शब्दमा सीमित कहाँ हुन्छ र? त्यही दृष्टिकोण अनुसार अरूलाई व्यवहार गर्छौं। त्यही व्यवहार अनुसार अरूबाट पनि व्यवहार आउँछ। अनि अरूबाट आएको व्यवहारमा पनि फेरि अनुमान लगाउँछौं।

एउटा व्यक्तिले हेरेको समाजलाई हामीले पनि उसकै आँखाबाट हेर्ने गर्‍यौं भने बुझाइ फरक नहुन सक्छ। व्यक्तिपिच्छे सोचाइ र बुझाइ फरक हुन्छ। मेरो आँखाले देख्ने व्यक्ति र समाजको चित्र र विश्लेषण अरूसँग नमिल्न सक्छ।

दराजको स्वरूप हेरेर त्योभित्र के छ भनेर भन्न सकिन्छ त? लुगा राख्न प्रयोग गरिने भएकाले लुगा होला भन्नसम्म सकिएला। दराजको ढोका खोलेर हेरेपछि मात्रै के छ, कसरी राखिएको छ, कतिसम्म राख्न सकिन्छ भन्ने थाहा हुन्छ।

एउटै व्यक्तिभित्र अरू सयौं उसैले बनाएका व्यक्ति हुन्छन्। कोसँग कुन बेला कसरी प्रस्तुत हुने भन्ने उसको नियन्त्रणमा हुन्छ। एकैछिन अगाडि प्रस्तुत हुने व्यवहारले कसरी निश्चिन्त हामी मूल्यांकन गर्छौं?

‘होला’ लाई होला मात्र बन्न नदिएर ‘किन होला’ बनाउने बेला भएको छ।

‘होला’ लाई ‘के भएर होला’ बनाउने बेला भएको छ।

‘होला’ लाई टाढा राखेर ‘हो’ को नजिक पुग्ने बेला भएको छ।

अहिलेसम्म ‘होला’ को नियन्त्रणमा हामी छौं। अब ‘होला’ लाई आफ्नो नियन्त्रणमा राख्ने बेला भएको छ।

आजै सम्भव नहोला तर गर्न थाल्ने बेला भएको छ। क्रान्तिशिखा धिताल

Leave a Reply

Your email address will not be published. Required fields are marked *