काभ्रेबाटै ११ जना ओली समूहको केन्द्रीय सदस्यमा

काभ्रे : प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको नयाँ केन्द्रीय सदस्यमा काभ्रेबाट ६ जना परेका छन्। बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकबाट उनीहरुसहित थपिएका ५ सय ५६ सदस्यलाई मनोनितसँगै आजै शपथ ग्रहण गराइएको छ।

काभ्रेबाट ओली समूहको केन्द्रीय सदस्य हुनेहरुमा रामहरि सुवेदी (संविधान सभा सदस्य), चन्द्र लामा (प्रदेश सभा सदस्य), भीम न्यौपाने (पनौती नगरपालिकाका मेयर), अशोक कुमार व्यञ्जु (धुलिखेल नपाका मेयर), नवीना लामा (पूर्वएमालेनिकट अनेरास्ववियु अध्यक्ष), नारायण पाण्डे, डा. अम्वु भवानी कार्की, रीता ढकाल ‘ धरिना’, रुक्मणि थापा ‘अस्मिता’, कुमार खकुरेल र कुमार थापा छन्।

ओली समूहका लागि काभ्रेबाट केन्द्रीय सदस्य भएका ११ जनामध्ये ९ जना पूर्वएमालेकै छन्। पूर्वमाओवादीतर्फका २ जना छन्। ओली समूहमा रहेकोमा ढकाल नेकपा काभ्रे जिल्ला कमिटी सदस्य पनि हुन्। प्रधानमन्त्री ओलीले यसअघि नेकपामा ४ सय ४६ जनाको केन्द्रीय कमिटी रहेकोमा तत्काल ५ सय ५६ जना थप गरी बाँकी १ सय ९७ थप गर्न सक्ने गरी केन्द्रीय कमिटी घोषणा गरेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीय कमिटीमा ५ सय ५६ जना थप गरी मनोनयनसँगै शपथ ग्रहण गरेका हुन्।