मलाई काम माग्न लाज लाग्दैनँ’ अनिल कपुरका ती फिल्म जुन मागेर मात्रै पाए भन्छन्

६३ वर्ष पुगेका अनिल कपुरले पर्दामा विभिन्न प्रकारको भूमिका निभाएका छन् । पात्र जुनसुकै होस् तर अनिल कपुरले ती पात्रलाई आफ्नो अभिनयले पर्दामा जीवन्त पारेका छन् । फिल्म ‘वो सात दिन’ का प्रेम प्रताप सिंह होस्, ‘राम लखन’ का लखन होस् वा ‘नायक’ फिल्मका शिवाजी राव, यस्ता थुप्रै पात्र छन् जुन चर्चित मात्रै भएनन्, आज पनि उत्तिकै याद गरिन्छ ।
यी पात्रमा यस्ता थुप्रै पात्र छन् जुन अभिनेता अनिल कपुरले मागेका पाएका छन् । ती भूमिकामा कुनै अन्य सुपरस्टारलाई अभिनय गराउने तयारी गरिएको थियो तर जब उनीहरुसँग कुरा बन्न सकेन तब अनिल आफैंले मागेर उक्त भूमिकामा अभिनय गरे ।

९० को दशकमा लगातार १३ हिट फिल्म दिने सदाबहार नायक अनिल कपुरले बीबीसी हिन्दीसँगको कुराकानीमा भने, ‘सफलताको अर्थ मेरा लागि सधैं एउटै रहेको छ । एउटा फिल्म हिट हुँदा मैले अर्को फिल्ममा काम पाएँ । फिल्म चल्छ वा चल्दैन, यो कुरामा म खासै सोच्दिनथेँ । म भोलिपल्टै आफ्नो अर्को फिल्मको सुटिङका लागि पुग्थेँ र जब मानिसहरुले मलाई ‘तिम्रो फिल्म त चलेन नि ?’ भनेर सोध्दा मैले ‘त्यो फिल्म नचलेर के भयो त, यहाँ हेर्नुहोस् न मैले कस्तो दृश्य दिएको छु, यो फिल्म पक्कै पनि चल्नेछ । हेर्नुहोस् न, फिल्म सुपरहिट हुनेछ’ भनेर जवाफ दिन्थेँ ।’
अनिल कपुर आफ्ना सफलताको दिन स्मरण गर्दै भन्छन्, ‘मलाई याद छैन कि मैले १३ वटा हिट फिल्म दिएँ । मलाई एउटै कुरा याद छ कि सन् १९७७ मा मैले पहिलो पटक क्यामराको सामना गरेको थिएँ । मेरो पहिलो फिल्म तेलुगु फिल्म थियो र अब हेर्दाहेर्दै ४० वर्ष भइसक्यो र यी ४० वर्षमा कुनै निर्देशकले राम्रो काम गर्दैछ भनेर थाहा पाउने बित्तिकै म उनीहरुलाई भेट्न जान्छु र काम माग्छु । मलाई लाज लाग्दैन ।’

अनुराग कश्यपबारे कुरा गर्दै अनिल कपुरले भने, ‘जब मलाई अनुरागले बम्बे भेलभेट बनाइरहेका छन् भन्ने थाहा भयो तब मैले उक्त फिल्ममा अभिनय गर्ने मौका पाउनका लागि अनुरागसँग कुरा गर्न चाहेँ । मैले ग्याङ्गस्टरको भूमिका गर्न चाहेको थिएँ तर उक्त भूमिका उनले करण जोहरलाई दिए । मलाई नराम्रो लाग्यो तर ठिक छ । उनीसँग काम गर्ने मेरो पनि समय आउला नि भनेर चित्त बुझाएँ ।’
‘सन् २००३ मा अनुराग एउटा फिल्म बनाउन चाहन्थे जसको नाम थियो ‘एल्विन कालिचरण’ जुन कहिले पनि बन्न सकेन । सबै एकअर्कासँग काम गर्न चाहन्छन् । यदि तपाईंको नियत सफा छ भने भगवानले पनि उक्त फिल्म नबनोस् भन्ने चाहन्छन् । र त्यसपछि उनैले एउटा फिल्म लिएर आउँछन् चाहे त्यो केही वर्षपछि नै किन नहोस्, समयमा नै आउँछ । आज म अनुरागसँग सह कलाकारको रुपमा काम गरिरहेको छु फिल्म ‘एके भर्सेज एके’ मा । अब मलाई प्रतिक्षा छ कि अनुरागले मेरो कुनै फिल्मको निर्देशन पनि गर्लान् कि भनेर ।
अनिल कपुरले ‘बम्बे भेलभेट’ मा निर्देशकलाई आग्रह गरेपछि मात्रै अभिनय गर्ने मौका पाएका थिए । तर यसरी मागेको यो उनको पहिलो फिल्म भने थिएन ।

अनिलले भने, ‘के. विश्वनाग फिल्म ‘ईश्वर’ बनाइरहेका थिए । म उनीसँग मुम्बईको एक होटलमा भेट्दा मैले उनलाई समातिहालेँ र हामी कुरा गर्न थाल्यौं । उनले आफू कमल हासनसँग मिलेर फिल्म बनाइरहेको बताए । फिल्मलाई राज कपुरले निर्माण गरिरहेको बताए । त्यति नै बेला एक दिन राज कपुर हाम्रो घरमा खाना खान आउँदा उहाँले आफू कमलसँग मिलेर काम गरिरहेको बताउँदै उनले नगरेको खण्डमा मैले उक्त फिल्ममा अभिनय गर्न सक्ने बताउनुभयो । जब कमलले उक्त फिल्ममा अभिनय गरेनन् तब मैले निर्देशकसँग कुरा गरेँ र पछि मैले नै त्यो फिल्ममा अभिनय गरेँ ।’
चर्चित फिल्म नायकको कुरा गर्दै अनिल कपुरले भने, ‘फिल्म नायक पनि मैले मागेर नै पाएँ । नायकमा पनि निर्देशक तथा निर्माताले आमिर खान वा शाहरुख खानलाई लिन चाहन्थे । जब उहाँहरुले फिल्म गर्नु भएन तब मैले गरेँ । फिल्म स्लमडग मिलियनेरमा पनि निर्देशक डेनी बोयलले अरु कसैलाई लिन चाहन्थे तर पनि फिल्म मैले पाएँ । नेटफ्लिक्सको आउँदो फिल्म ‘एके भर्सेज एके’ मा पनि निर्देशकले पनि अरु कसैलाई लिन चाहन्थे भनेर सुनेको थिएँ तर यो फिल्म घुमिफिरी म भएठाउँ आयो ।’

यी फिल्मबाहेक पनि अनिल कपुरका केही अन्य ठूला फिल्म छन् जुन अहिले उनको नामले चिनिन्छ तर पहिला यो कोही अरुले पाएका थिए । त्यहि फिल्ममध्ये एउटा नाम थियो ‘मिस्टर इन्डिया’ ।
यो फिल्ममा अनिल कपुरको भूमिकाले निकै प्रशंसा पाएको थियो तर यो फिल्मका लापग शेखर कपुरको पहिलो रोजाई अमिताभ बच्चन थिए । यद्यपि, पछि यो फिल्ममा अनिललाई कास्ट गरिएको थियो ।
शेखर सुमनले एक कार्यक्रममा अनिल कपुरसँग सम्बन्धित एउटा रोचक किस्सा साझा गरेका थिए । उनले भने, ‘फिल्म ‘लम्हे’ का लागि यश चोपडाको पहिलो रोजाई अमिताभ बच्चन र रेखा थिए तर पछि उनलाई महसुस भयो कि कहानीको हिसाबले अमिताभको उमेर बढी हुन्छ । त्यसले उनले अमिताभको सोच मनबाट निकाले र नयाँ अनुहार खोज्न थाले ।’

फिल्मकी लेखिका हनी इरानीले यश चोपडालाई तस्बिरले भरिएको एक खाम दिए जसमा लेखिएको थियो, ‘एक न्यूकमर, जो तपाईंको फिल्ममा अभिनय गर्न चाहन्छन् । यी तस्बिर हेरेपछि यश चकित परेका थिए किनभने ती तस्बिर अनिल कपुरका थिए जुन उनी आफैंले पठाएका थिए । त्यतिबेला अनिल कपुर निकै ठूलो नाम बनिसकेको थियो ।’
उक्त कार्यक्रममा यो घटनालाई सबिस्तार बताउँदै शेखर सुमनले थपे, ‘अनिलको तस्बिर देखेपछि यश चोपढाले अनिल कपुरलाई भेट्न बोलाए । अनिलले यशलाई उनी कुनै पनि हालतमा फिल्म गर्न चाहेको बताए । फिल्मको पात्रको हिसाबले उनी ठूलो देखिने भएकोले यशले उनलाई धेरै नै सम्झाउने कोसिस गरे तर अनिल कुरा मान्न तयार नै थिएनन् । अनिलले यो भूमिकाका लागि जे सुकै गर्न पनि तयार भएको बताइरहेका थिए । त्यतिबेला अचानक यशले सोधे कि ‘के आफ्नो जुङ्गा फाल्न तयार छौ ?’

धेरै सोच विचार पछि अनिल आफ्नो जुङ्गा हटाउनका लागि तयार भए । यशले उनलाई दोस्रो दिन फोटोसुटका लागि बोलाए । जुङ्गा नभएका अनिल र श्रीदेवीको जोडी यशलाई असाध्यै मन पर्यो, त्यसपछि मात्रै फिल्म ‘लम्हे’ बन्यो ।’
अनिल कपुरको जन्मदिन अर्थात् २४ डिसेम्बरमा नेटफ्लिक्समा ‘एके भर्सेज एके’ फिल्म रिलिज हुँदैछ । यो फिल्ममा अनिलसँग अनुराग कश्यपको पनि अभिनय छ । यो फिल्मको निर्देशन विक्रमादित्य मोटवानीले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *