मासिक डेढ लाख आम्दानी, एक बोटमै १० किलो टमाटर कोरिया छाेडेर

हाइटेक प्रविधिमा लटरम्म टमाटर फलेपछि सन्धिखर्क नगरपालिका–१० बेलटारीका कृषक खिमबहादुर पाण्डे (बाबुराम) दंग हुनुहुन्छ । व्यावसायिक कृषि पेशा अंगाल्नुभएका खिमबहादुरले प्रविधिमैत्री बन्नुपर्छ भनेर हाइटेकमा टमाटर खेती गर्नुभयो । अहिले उहाँको बारीमा लटरम्मै टमाटर फलेका छन् । उत्पादित टमाटर बेच्नको लागि बजारको पनि समस्या छैन् । ८० देखि एक सय रुपैयाँ किलोमा टमाटर बिक्री भैरहेको छ । झण्डै ८ सय टमाटरका बिरुवाबाट उहाँले ८ टन भन्दा बढी टमाटर उत्पादन हुने अनुमान गर्नुभएको छ ।

रोजगारीको लागि कोरिया जान ९ वर्ष अघि खिमबहादुरको भिसा लागेको थियो । कृषि भिसामा कोरिया जानुभन्दा आफ्नै माटोमा केही गरेर देखाउँछु भनेर आफू कृषि पेशामा लागेकाे उहाँले बताउनुभयो ।‘शुरुमा त कोरियाको भिसा छाडेर खोरियामा कृषि गर्छु भन्दा सबैले खिसी गरे, अहिले सबैले स्याबासी दिन्छन्’, पाण्डेले खुसी हुँदै भन्नुभयो, ‘आफ्नै देशमा यति गर्न सके त विदेश जानै परेन नि ।’

उहाँले तरकारी खेती मात्र गर्नुभएको छैन । गाई र भैंसीपालन पनि गर्नुभएको छ । अहिले उहाँको गोठमा २१ वटा गाई भैंसी रहेका छन् । दैनिक सय लिटर दुध सन्धिखर्क बजारमा लगेर बेच्ने गर्नुहुन्छ । तरकारी र दुध बेचेरै खिमबहादुले महिनाको डेढ लाख भन्दा बढी आम्दानी गर्नुहुन्छ । कृषिलाई हेयको दृष्टिले हेर्ने हाम्रो समाजमा उहाँले कृषि पेशाको कमाइबाटै छोरालाई बेंग्लोरमा डाक्टरी र छोरीलाई सन्धिखर्कको निजी स्कुलमा पढाउनुभएको छ ।

उहाँको बारीमा हाइटेक प्रविधिमा लगाएको टमाटर धेरै राम्रो फलेको छ । औषतमा एक बोटमा १० किलो भन्दा बढी टमाटर फल्ने गरेको छ । तरकारी खेतीलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले अर्घाखाँचीमा हाइटेक प्रविधि भित्र्याएको हो । यो प्रविधिले थोरै स्थानमा गरेको खेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ । यसको प्रयोगबाट कृषकहरुले बढी लाभ लिन सक्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोनका प्रमुख घनश्याम चौधरीको भनाइ छ ।

खिमबहादुर पाण्डे पनि यो प्रविधिले गर्दा नै तरकारी खेतीबाट आफूले बढी आम्दानी गर्न सकेको बताउनुहुन्छ । विदेशमा दुःख गरेर, घरपरिवारबाट टाढिएर लाख कमाउनुभन्दा केही थोरै कमाइ भए पनि आफ्नै देशमा उद्यम गर्नुपर्छ भनेर आफू विदेश नगएको उहाँ बताउनुहुन्छ ।

रोजगारीको लागि विदेशमा भौतारिएका युवाहरुलाई कृषि पेशामा स्वरोजगार बनाउन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको ध्यान जानुपर्ने उहाँको भनाइ छ । खिमबहादुरको परिश्रम र प्रगति देखेरै उहाँको सिको गरेर गाउँमा अरु युवाहरु पनि गाउँमै कृषितर्फ आकर्षित भएका छन् । उहाँको यही अनुभवले भन्छ, ‘कृषिलाई व्यावसायिक र प्रविधियुक्त बनाउन सके कोही पनि युवा विदेश जाने थिएनन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *