आलुको बीउ पाइएन !’ ‘मनको ६ हजार दिन्छु भन्दा नि

इलाममा यस वर्ष रोप्नको लागि आलुको बीउ किन्न नपाउँदा किसान चिन्तित बनेका छन् । बर्खे आलु रोप्ने मुख्य सिजनमा नै बीउ नपाउँदा किसानहरु चिन्तित बनेका हुन् । हिउँ पर्ने क्षेत्रमा समेत आलु फल्ने भएकाले जिल्लाका अधिकांश किसान आलुखेती गर्छन् ।

यो समय बर्खे आलु रोप्नको लागि धमाधम माटो तयार गरिने समय हो । माथिल्लो भेगमा मंसिरमा माटो तयार गरिन्छ र पुस पहिलो हप्तासम्ममा रोपिसकिन्छ । तल्लो भेगमा पुसमा माटो तयार गरी माघदेखि फागुनको मध्यसम्ममा आलु रोपीसकिन्छ ।

किन्न खोजे बीउ नै पाइन्न
बीउ नपाउने समस्याका कारण यस वर्ष आफ्नो मात्रै होइन धेरैको बारी बाँजै रहने भएको इलाम नगरपालिका ३ इलामका किसान गणेश सुनुवार गुनासो गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मनको छ हजार दिन्छु भन्दा पनि आलुको बीउ नै पाइन, त्यसैले यो वर्ष हिउँदे सिजनको आलु रोप्दै रोपिनँ ।’

उहाँको जस्तै समस्या देउमाई नगरपालिका १ का किसान कृष्ण राईलाई पनि छ । उहाँले गतसाल १४ मन आलु रोप्नु भएको थियो । यो साल भने बीउँको समस्या भएकाले १० मन मात्रै रोप्दै हुनुहुन्छ । गतसालको मेहेनतले यो साल उहाँले खाने आलु २५ मन बेच्नु भयो । बीउ आलु भने ४० मन बेच्नु भयो । आफ्नै बारीको आधा र अरुको बारीमा फलाइएका आधा गरी आलु रोपिने भएकाले यस वर्ष पनि आधा अरुको बारीमा फलाइएका आलु लिएर रोप्ने मनसायले उहाँले तीन हजार दुई सयको भाउमा आलु बीउ बेच्नु भएको हो । तर अहिले रोप्ने सिजनमा भने आलु बीउ किन्नै पाएन ।

‘सबै किसान मेरैमा आलु बीउ किन्न आए । आफू कस्कामा किन्न जानु ? उबेला किन्न पाइन्छ भनेर बेचियो । अहिले आफ्नै बारी बाझो भो’, उहाँ भन्नुहुन्छ, ‘अब यो साल यत्ति नै रोपेर चित्त बुझाउछु ।’

गएको सालको तुलनामा आलु उत्पादन बढेको छ । माइजोगमाई गाउँपालिका १ का किसान तथा व्यापारी पेम्बा शेर्पाले यो साल दुई सय मन आलु बेच्नु भयो । ३० मनबाट फलेको आलु सो बराबर बेचेर आफ्नै लागि ४० मन बीउ रोप्नको लागि राख्नु भएको छ । शेर्पाका अनुसार, माइजोगमाई १ मा मात्रै डेढ सय घरधुरी आलु खेतीमा आश्रित छन् ।

इलाममा उत्पादित आलु स्थानिय बजारसँगै झापा, मोरङ्ग, काठमाण्डौँ लगायतका बजारमा पुग्छन् । जिल्लामा एमएस, डेजिरे, बिटे, झ्याले, जनकदेव, खुमल उपहार, खुमल सेतो जस्ता जातका आलु रोपिन्छन् । यस वर्ष इलामको बागबानी विकास केन्द्र इलामले चार सय १२ मन आलु विक्री गरेको छ । यो गतसालको तुलनामा ४३ मन बढी हो । केन्द्र यस वर्ष एक सय ३७ मन रोप्ने तयारीमा छ ।

यस केन्द्रबाट जनकदेव, खुमल उपहार, खुमल सेतो जातका आलु विक्री गर्ने गर्छ । यो साल आलुको माग नै धेरै भएको बागबानी विकास केन्द्र इलामका गणेश खत्रीले जानकारी दिनु भयो । यो साल २४ सय मन आलु किसानले माग गरेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *