राष्ट्रपतिले गरिन् अस्वीकार,प्रधानमन्त्रीको प्रस्तावलाई

काठमाडौं पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवाद अहिले चरम उत्कर्षमा छ । नेकपाका शीर्ष नेताहरुबीचको शक्ति संघर्षका कारण निस्किएको विवादले कुन मोड लिन्छ भन्ने यसै अनुमान गर्न नसकिने भएको छ ।

नेकपा विघटनको फुटमा पुगेको अनुमानसँगै पछिल्लो समय राजनीतिक वृत्तमा संसद विघटन त हुने होइन भन्ने अनुमान पनि गर्न थालिएको छ ।

त्यसो त संसद विघटन गर्ने र मध्यावधि निर्वाचनमा जाने प्रस्ताव बोकेर प्रधानमन्त्री केपी शर्मा ओली ३ मंसिर २०७७ अर्थात् गत मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगेको स्रोतको दाबी छ । तर, उनले लगेको यो प्रस्तावलाई राष्ट्रपति भण्डारीले अस्वीकार गरिदिएकी छिन् ।

मंगलबार दिउँसो राष्ट्रपति भण्डारीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी थिइन् । प्रचण्ड राष्ट्रपति निवासबाट बाहिर निस्किए लगत्तै शीतल निवास पुगेका थिए, प्रधानमन्त्री केपी शर्मा ओली । त्यो दिन राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच झन्डै डेढ घन्टा छलफल भएको थियो ।

स्रोतका अनुसार त्यस भेटमा प्रधानमन्त्री ओलीले अबको विकल्पका रुपमा संसद विघटन गर्ने र अगाडि बढ्ने बताएका थिए । तर, संसद विघटन गर्दा आफ्नो र यो सरकारको छवि थप धुमिल हुने भन्दै राष्ट्रपति भण्डारीले त्यसलाई अस्वीकार गरिदिइन् ।

‘संसद विघटन गर्ने, कोरोना महामारीको कारण देखाएर देशमा संकटकाल लगाउने र मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री ओलीको प्रस्ताव थियो,’ ओलीनिकट स्रोतको दाबी छ, ‘तर, राष्ट्रपति भण्डारीले त्यसलाई अस्वीकार गरिदिनुभयो । अहिले संसद विघटन गरेर गए देशलाई पनि बेफाइदा हुने र आफूहरुको छविमा पनि आँच आउने तर्क उहाँको थियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *