सपनाले नै दिनेछिन्’मलाई दागबत्ती

एक दिन मात्र ढिला आएको भए तिम्रो बुबालाई नगरपालिकाले गाडिदिन्थ्यो । र, तिमी जिन्दगीभर बुबाको लास खोजिरहन्थ्यौ,’ आजभन्दा १६ वर्षअघि विनयजंग बस्नेतलाई टिचिङ अस्पतालका कर्मचारीले भनेका वाक्य हुन् यी । त्यतिवेला विनयका बुबाले सडकबाटै बेवारिसे अवस्थामा दुनियाँ त्यागेका थिए । बस्नेतले बुबाको शवको ठेगाना खोज्दै दुई दिन सहर चहारे । सहरका अँध्यारा गल्ली, बेवारिसेहरू भेटिने चोक, सडकहरूमा खोजे । तर, कतै भेटेनन् । न बुबा कुन सडकको कुन पेटीमा निदाउँछन् भनेर नै थाहा थियो उनलाई ।

‘अन्तिममा अस्पतालतिर चाहरेँ,’ विनय भन्छन्, ‘तीन–चारवटा अस्पताल चहारेपछि टिचिङ अस्पतालमा आठ–दश शवको थुप्र्रो भेट्टाएँ ।’ सिमेन्टीको चिसोले सुन्निन थालेका शवहरूमध्ये बुबाको शव पहिचान गर्नै गाह्रो भयो उनलाई । सबै शव एकै किसिमका देखिन्थे । सबै शवको हालत उस्तै थियो । भलै हुलिया मात्र फरक थियो । तर, केहीबेरको सोधखोजपछि चिह्नहरूका आधारमा बुबाको शव पहिचान गरे । ‘तर, बाँकी शवहरू कसका होलान् ? यिनीहरूका आफन्त कहाँ होलान् ?’ उनको मनमा यही प्रश्नहरू घुमिरह्यो ।

बाँकी शवहरू आफन्तविहीन थिए । निःसहाय थिए । बाँच्दासम्म राम्रो परिचय नपाएका र मरेपछि झनै परिचयविहीन बनेका शवहरू केवल शव मात्र थिएनन् । ती शवहरू सडकका पेटीबाट अस्ताएर खाडलमा पुरिन लागेका ‘भुसका थुप्रो’जस्ता थिए । बुबाको शव बस्नेतले पहिचान गरिसकेपछि अस्पतालका कर्मचारीले फेरि भने, ‘तिमीले त बुबा भेट्टायौ, अब किरिया गर्छौ । दागबत्ती दिन्छौ । तर, यिनीहरूको पहिचान खुलेको छैन । अब नगरपालिका आउँछ, लिएर जान्छ र गाडिदिन्छ ।’

बस्नेत समयमै अस्पताल नपुगेको भए नगरपालिकाले उनको बुबाको शव लिएर जान्थ्यो, पहिचान नखुलेको र बेवारिसे भनेर कतै खाल्डोमा पुरिदिन्थ्यो । बस्नेत सुनाउँछन्, ‘एक दिनअघि मात्रै त्यहाँ नपुगेको भए म जिन्दगीभर बुबाको लास खोजिरहेको हुने थिएँ हुँला ।’

विनयको बुबाको मृत्यु भयो । उनकी आमा सानैमा बितिन् । घर त थियो, ललितपुरमा । परिवार पनि थियो । सबै राम्रो थियो । तर, समयले बस्नेतलाई पनि सडकमा ल्याइपुर्‍यायो । बस्नेत बेवारिसे भए । सडकमा रातहरू काट्न थाले । सडकमै दिनहरू बिताउन थाले । बुबाको मृत्युपछि विनयले नौ वर्ष सडकमा गुजारे । त्यसवेला विनयको परिचय एउटै थियो, ‘बेवारिसे’ ।

‘बेवारिसे’ परिचयको कारक भने उनी स्वयं थिए । उनी जाँडरक्सीको लतमा फसे । सडकमा आइपुगे । श्रीमतीले छाडेर गइन् । छोरीले ‘बाबा’ भन्न छाडिन् । घरको गेट बन्द भयो । विनय भन्छन्, ‘आफन्त, परिवारबाट माया नपाउँदा सडकमा आइपुगेँ ।’ल्यामपोस्टमुनि सिमेन्टीको चिसोमा बिताएका रातहरू सम्झिँदा अहिले पनि बस्नेतको आँखा रसाउँछ । ती भोका, अनिँदा, अपहेलित दिनहरू सम्झिँदा उनको गला अवरुद्ध हुन्छ । उनी बोल्न सक्दैनन् । त्यो रित्तो, शून्य, विरक्तलाग्दो स्मृतिहरूमा फर्कँदा उनी बोल्दाबोल्दै रोकिन्छन् र मौन बसिदिन्छन् ।

बस्नेत भन्छन्, ‘कोही मान्छे सडकमा यत्तिकै आउँदैन । केही न केही कारण जरुर हुन्छ ।’ सडकमा बस्नेतजस्ता सयौँ मान्छे थिए, अहिले पनि छन् । कत्ति खान नपाएर मर्छन् । आफन्त आउँदैनन् । उपचार गरिदिने मान्छे हुँदैन । भनेको वेला खान पाउँदैनन् । कसैले केही देला भनेर आस गरिबस्छन् । तर, ‘बेवारिसे’ भनेर अपमानसिवाय अरू पाउँदैनन् ।

‘कोही आएर मसँग हात मिलाइदिए पनि त हुने । कसैले आएर केही सोधे पनि त हुने । कोही आएर केही बोलिदिए पनि त हुने भन्ने चाहना हुन्छ सडकका मान्छेहरूको,’ बस्नेत देखेको र भोगेको कुरा सविस्तार सुनाउँछन्, ‘त्यो कुराले मलाई जहिल्यै पोल्थ्यो । अहिले पनि पोल्छ । म आफैँ त्यो नमिठो अनुभूति र अपेक्षाबाट गुज्रिएको छु ।’

सडकका मान्छे जहिल्यै रक्सी पिउन खोज्छन् । रक्सीको नशामा हुन्छन् । अलिकति पैसा माग्यो, रक्सी पियो । कसैकसैले चामल दिन्छन्, त्यो पनि होटेलमा लग्यो, रक्सीसँग साट्यो । भात नै नखाई आखिर किन त्यसो गर्छन् उनीहरू ? ‘खासमा उनीहरू बेहोसीमा खुसी खोज्न चाहन्छन् । आफन्तबाट एकदम विक्षिप्त बनेका हुन्छन्,’ बस्नेत सुनाउँछन्, ‘र खुसी हुने बहाना खोज्छन् । बहाना त्यही नशा भइदिन्छ । म पनि त्यही अवस्थाबाट गुज्रिएको हुँ । र, परिवारबाट अलिकति पनि माया नपाउँदा बेवारिसे भएँ । मान्छेले झुन्डेर मर्ने, विष खाने यस्तै कारण त हो ।’

बस्नेतलाई पनि आफन्तहरूले केही गर्छ भनिरहन्थे । तर, आफन्तको सपना तुहियो । उनी सडकमा पुगे । अहिले नौ वर्षपछि उनको जिन्दगी सडकबाट थोरै उठेर पुनस्र्थापना केन्द्र्रसम्म पुग्यो । त्यहाँबाट पनि फेरि फर्किएर सडकमै आइपुग्ने सम्भावना पनि थियो । कति त त्यहाँ पुगेर पनि सडकै फर्किएका छन् । र, सडकमै अस्ताएका छन् । तर, उनी भने फर्किएनन् ।

‘नौ वर्षअघि मैले नयाँ जीवन पाएँ । जुन समयमा म सडकमा मर्न मात्र बाँकी थिएँ । मरेको भए बेवारिसे हुने थिएँ,’ भन्छन्, ‘नयाँ जीवनपछि मैले निर्णय लिएँ कि अब मैले सकेको सहयोग गर्नुपर्छ । कोही सडकमै बेवारिसे भएर मर्दै गर्दा खाल्डोमा पुरिने होइन, उसले दागबत्ती पाउनुपर्छ, सदगत हुन पाउनुपर्छ ।’ त्यसपछि बस्नेतले बेवारिसे शवहरूलाई दागबत्ती दिन थाले ।

अहिलेसम्म ३०६ वटा शवलाई दागबत्ती दिइसकेका छन् । करिब सात वर्ष भयो, उनले दागबत्ती दिन थालेको, सद्गत गर्न थालेको । केही वर्ष यसरी नै व्यक्तिगत पहलमा दागबत्ती दिइरहे । अलिपछि प्र्रहरीहरूले नै भने, ‘तपाईं एउटा संस्था खोलेर काम गर्नुस्, अलि सजिलो हुन्छ । सहयोग पनि पाइन्छ ।’ उनले संस्था खोले ‘बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र’ ।

विनयजंग भन्छन्, ‘म बाँचेसम्म यो काम गरिरहन्छु । म मरेपछि यो काम सपनाले अगाडि बढाउनुपर्छ । किनकि सपना मेरो छोरा हो । म मरेपछि उसैले मलाई दागबत्ती दिनेछिन् ।’

पछि जोडिन आइपुगिन् सपना रोका मगर । जसलाई भर्खरै बिबिसीले विश्वका एक सय प्र्रेरणादायी महिलाको सूचीमा राखेको छ । सपनासँग विनयको पहिलो भेट छोरी विदेश पढ्न जाने क्रममा भएको थियो । जतिवेला बस्नेतले नयाँ जीवनको यात्रा सुरुवात गरिसकेका थिए । परिवारबाट प्रेम पाइसकेका थिए । बस्नेतकी छोरी त अस्ट्रेलिया उडिन्, तर सपना उड्न पाइनन् । सपना यतै रहिन् । यतैको गल्ली र सडकमा रहिन् । बस्नेतले झैँ चिसा रातहरूमा निद्रा खोजिबसिन् ।

सपनासँग पछि फेरि भेट भयो बस्नेतको । यस बखत सपना पनि बेवारिसे जीवनबाट फिरिइसकेकी थिइन् । सडकबाट एक सिँढी माथि उक्लिसकेकी थिइन् । र, यहाँनेर दुवैको यात्रा सँगै भयो । किनकि कथा दुवैको उस्तै–उस्तै थियो । बस्नेतले सपनालाई धर्मछोरी बनाए । छोरीसँगै शवको दागबत्ती, सद्गतका काम गर्न थाले । सुरुसुरुमा सपना विनयसँगै शव लिन जाने गर्थिन् । शव बोकेर ल्याउने गर्थिन् । अलि पछि बस्नेतले ‘तिमीले पनि दागबत्ती दिनुपर्छ, तिमी छोराभन्दा कमजोर छैनौ’ भनेर सपनालाई भने । त्यसपछि सपना पनि तयार भइन् ।

एकपटक तीनवटा शव उठाउनुपर्ने भयो । महिनौँ अलपत्र रहेर कुहिएको थियो शव । शवलाई दुवैले उठाउँदै थिए । तर, अचानक एउटा शवको खुट्टा चुँडिएर सपनाको कानमा ठोक्कियो । त्यो पल हाँस्दै सुनाउँछन् बस्नेत, ‘सपनाको कानमा लास उछिट्टिएपछि ‘बाउ, लासले त लात्ती पो हान्यो’ भनिन् ।’ आफू जिउँदो रहेसम्म यही काममा सक्रिय रहने बस्नेतको सोच छ । उनको छोरा छैन ।

छोरी विदेशमा छिन् । ‘सपना मेरो छोरा हो । म मरेपछि उसैले मलाई दागबत्ती दिनेछिन्,’ भन्छन्, ‘म बाँचेसम्म यो काम गर्छु । म मरेपछि यो काम सपनाले अगाडि बढाउनुपर्छ । उनले बढाउने पनि छिन् । उनको हिम्मत नजिकबाट देख्नेहरूले थाहा पाउँछन् । उनी चानचुने छोरी होइनन् ।’ (नयाँपत्रीका)

Leave a Reply

Your email address will not be published. Required fields are marked *